

काठमाडौं । पछिल्ला केही दिनदेखि सफा हुन नसकेको काठमाडौँको मौसम आज पनि सफा नरहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए ।
विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।