

काठमाडौं । गत चैत २६ गते महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा – ८ का अध्यक्ष आशामान संगतले ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गर्न २४४ वर्ष पुरानो मठा फल्चाको शिलान्यास गरे । जयबागेश्वरी धुनी मठ, सामुन्ने रहेको फल्चा र बीचमा रहेको भैरवको सांस्कृतिक सम्बन्धलाई स्थापित गर्दै फल्चाको शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा संयोजक संगतले सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पार्दै भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए ।
यही वैशाख १७ गते नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भयो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा र शिलान्यास गरे । हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरुपमा फिर्ता लैजानका लागि भन्दै हाँडी गाउँमा पनि विभिन्न सम्पदाहरूको पुनर्निर्माण सुरु भएको छ । अहिले गाडीरहित शनिबारको कार्यक्रम चलिरहेको छ भने अन्य सम्पदाहरूको संरक्षणमा पनि यो वडाले समेत गम्भीरताका साथ चासो दिने गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ७ ले लोपोन्मुख मि:ना पुखुको पुनर्निर्माण कार्य सुरु गरेको छ । वडाको सम्पदा पुनर्निर्माणको क्रममा भगवानस्थान धन्दो चैत्यको परिसरमा रहेको सो पोखरीको पुनर्निर्माण गर्न लागेको हो । पछिल्लो समय वडा नं ७ ले सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण र पुनर्निर्माणमा सक्रियता देखाउँदै आएको छ । जसका लागि क्षमापृजा गरेर पुनर्निर्माण सुरु गरिएको वडाध्यक्ष विमल होडाले जानकारी दिए ।
माथिका यी उदाहरणहरू काठमाडौं महानगरपालिकाले गर्न थालेका सम्पदा संरक्षण र पुनर्स्थापनासम्बन्धी कामका उदाहरणहरू हुन् । २०७९ सालमा नयाँ जनप्रतिनिधि आएपछि काठमाडौं महानगरपालिकामा सम्पदा पुनर्निर्माणको काम उल्लेखनीय रूपमा अघि बढेको छ । यी अधिकांश सम्पदाहरू सम्पदा तथा पर्यटन समितिको संयोजनमा हुने गरेको छ । सो समितिका संयोजक समेत रहेका संगतकै पहलमा गत वर्ष नवाली टोलमा एउटा पुरिइसकेको इनारको पुनर्निर्माण भयो । अहिले त्यो ऐतिहासिक इनार संरक्षित अवस्थामा छ । महानगरपालिकाका धेरै ऐतिहासिक बस्तीहरूमा पिच उप्काएर ढुंगा बिच्छ्याइएको छ ।
काठमाडौँ महानगर सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईका अनुसार महानगरभित्रका सम्पदा पुनर्निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । सबैभन्दा बढी प्रभावित बसन्तपुर दरबार क्षेत्रका काम थोरै मात्र बाँकी रहेको उनको भनाइ छ। विवादका बाबजुद राष्ट्रियस्तरबाट पुरातात्त्विक महत्त्वका सम्पदा बनिरहँदा वडाले आफ्नो क्षेत्रमा रहेका सत्तल, फल्चा, आगम छेः (निश्चित परिवारको गुठी घर), द्ये छेः (देवताको घर) बनाएका छन्। वडास्तरका यी कामबाट जनप्रतिनिधिले स–साना सम्पदालाई पनि ध्यान दिएको देखिन्छ ।