

काठमाडौं । भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले सबैजसो शीर्ष नेताहरूसँग भेट गरी शुक्रबार स्वदेश फर्किएका छन् । तीन दिने सम्बन्ध सुधार भ्रमणका लागि नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संसदमा रहेका साना दलका नेताहरूसम्मलाई भेटेर फर्किए ।
चौथाइवालेले बुधबार काठमाडौं ओर्लेलगत्तै पहिलो भेट गृहमन्त्री रमेश लेखकसँग गरेर नेपाल–भारत खुला सिमानाको दुरुपयोग हुन सक्ने सम्भावनाबारे छलफल गरेका थिए । त्यसपछि बुधबार पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटे । उनले बुधबारै कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग बेग्लै भेटवार्ता गरे।
बिहीबार प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस महामन्त्री गगन थापा, नेताहरू डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, उदयशमशेर राणा, माओवादी नेता जनार्दन शर्मासँग भेट गरे।
स्वदेश फर्किने क्रममा उनले राप्रपा र रास्वपा नेताहरू समेत भेट गरेका थिए । बुधबार र बिहीबार उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा, माओवादी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतासँग भेट गरेका थिए । भाजपा अध्यक्ष जेपी नड्डा र विदेशमन्त्री डा. एस जयशंकरसँगको समन्वयमा काठमाडौं आएका चौथाइवालेले प्रधानमन्त्रीसँगको भेटमा पारस्परिक हितका अनेकौँ पक्षबारे छलफल भएको सामाजिक सञ्जालमा जनाएका छन् ।
उनले गणतन्त्रवादीहरूसँग भेटेर भारत राजतन्त्रको पक्षमा नरहेको जनाउ दिए भने राजावादीहरूसँग भेटेर पनि उनीहरूको अनुकुलकै प्रतिबद्धता जनाएको बताइएको छ ।