

काठमाडौ । एन्फाको लेखा तथा अनुपालन समिति निष्पक्ष नरहेको आरोप लागेको छ । एन्फाको विधानको परिच्छेद १३ मा स्वतन्त्र समितिको परिकल्पना गरिए पनि समितिले निष्पक्षता भन्दा कार्यसमितिको मोहोरा बनेर काम गर्ने गरेको आरोप लागेको हो ।
विधानको धारा ६९ मा लेखा तथा अनुपालन समिति बारे उल्लेख छ । जसमा लेखा तथा अनुपालन समितिले एन्फाको आन्तरिक र बाह्य लेखा परीक्षण प्रतिवेदन तयार पार्न सहयोग गर्ने, प्रतिवेदनको समीक्षा गर्ने, अनुगमन गर्ने, सम्बद्ध नियमावलीको पालना भए नभएको अनुगमन गर्दै अनुपालन गर्न आवश्यक सहयोग, सुझाव र निर्देशन दिने कार्य गर्ने बताइएको छ ।
अहिले दिपक खातीको संयोजकत्वमा रहेको लेखा तथा अनुपालन समिति निश्पक्ष नरहेको एन्फा असन्तुष्ट पक्षको आरोप छ । समितिले तयार पारेको आव २०८०।२०८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन पटक, पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि नदिएको आरोप लगाए । निश्पक्ष हुनुपर्ने निकाय नै प्रभावमा परेको देखिन्छ असन्तुष्टमध्येका एक सदस्यले काठमाण्डौ खवरलाई बताए ।
लेखा तथा अनुपालन समितिको अध्यक्ष दिपक खातीले एन्फाबाट सवारी चालक(ड्राईवर) सुविधा लिएका छन् । एन्फाबाट तलबभत्ता लिएपछि सवारी चालकले एन्फामा हाजिरी गर्नुपर्नेमा घरेलु कामदारको रुपमा काममा लगाउनु भएको छ ।
नियुक्ति अवधिभर नै सवारी चालक उपलव्ध गराउनु अख्तियारको दुरुपयोगको साथै लाखौ रुपैया एन्फा रकम दोहन नभए अरु के हुन सक्छ ती सदस्यले प्रतिप्रश्न गरे । एन्फाबाट अवैधानिकरुपमा सेवा सुविधा लिएपछि उहां कसरी निश्पक्ष हुन सक्नु हुन्छ असन्तुष्ट सदस्यले आरोप लगाए ।
कर्मा छिरिङ शेर्पा अध्यक्ष रहेको बेला लेखा तथा अनुपालन समितिले नै एन्फाको साधारणसभामा प्रश्न उठाए पछि एन्फा सचिवालयले त्यसको जवाफ दिनु परेको असन्तुष्ट सदस्यले स्मरण गराए । साधारणसभा नजिकिदै जाँदा सरोकार वालाले माग गर्दा समेत आन्तरिक लेखा परीक्षण नदिनु आर्थिक कारोबार शकास्पद रहेको हुन सक्ने ती सदस्यले भने । अब वैशाखमा हुने साधारण सभामा यस विषयलाई मुख्य विषय बनाइनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफामा समेत उजुरी गर्ने ती सदस्यले काठमाडौं खबरलाई बताए ।