

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।
केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।
सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ ।
ट्राफिक नियम उल्लंघनमा करिब साढे २ सय सवारी कारबाहीमा
काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ र चार पांग्रे १३ गरी १९५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, ललितपुरबाट दुई पांग्रे १७ र भक्तपुरबाट दुई पांग्रे ३१ र चार पांग्रे १० गरी जम्मा २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमध्ये ४९ वटा सवारी मापसे सेवन गरेकाले नियन्त्रणमा लिइएको छ । लागुपदार्थ सेवन (लापसे) गरेका ८ सवारी नियन्त्रणमा लिइएको छ । बाँकी भने ट्राफिक नियम उल्लंघन गरेर चलाइएका सवारी भएको प्रहरीको भनाइ छ ।