

काठमाडौँ । पछिल्लो २४ घण्टादेखि देशका विभिन्न क्षेत्रमा हुँदै आएको वर्षा आज दिउँसोदेखि रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए।
उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा भएको छ ।
बागमती प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उनले बताए । कोशीका थोरै भूभागमा पानी परेको छ । आज राति पनि ठाउँठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए।
महाशाखाका अनुसार आज रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ ।
मौसमविद् पुडासैनीले भने, “भोलि आजभन्दा केही कम छ तर बदली चाहीँ छ, भोलि काठमाडौँमा आजभन्दा केही सुधार मात्रै छ, दिउँसोतिर फाट्टाफुट्ट पानी पर्नसक्छ, मधेशमा बदली मात्रै छ, पर्सि आइतबारदेखि खुल्छ ।”