

काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे।
महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ । “देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु”, उनले भए।
आज साँझ एक सूचना जारी गर्दै उनले धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन अनुरोध पनि गर्नुभएको छ । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उनले अनुरोध गर्नुभएको छ । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ ।