

काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्री पर्वलाई लक्षित गरी काठमाडौँका विभिन्न क्षेत्रमा सवारी चलाउन नपाउने व्यवस्था गरेको छ। बुधबार मनाउन लागिएको महाशिवरात्री पर्वको अवसरमा पशुपति आसपासका विभिन्न क्षेत्रहरूमा सवारी निषेध गरिएको हो।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको दिन करिब ५ लाख भक्तजनहरूले दर्शन गर्ने अनुमान गरेको छ। सो सङ्ख्यामा उपस्थित दर्शनार्थीहरूलाई व्यवस्थित गर्नका लागि सवारी व्यवस्थापन गर्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार बुधबार पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको छ ।
पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । त्यस्तै, धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफललगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै, दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन् ।