

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मापन गरिएको वायु गुणस्तर अनुसार काठमाडौँको शङ्ख पार्क आसपासको हावा सबैभन्दा अस्वस्थकर देखिएको छ। वातावरण विभागका अनुसार, आइतबार मध्याह्न १२ बजे काठमाडौँ उपत्यकाका अन्य स्थानको तुलनामा शंखपार्कको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७२ पुगेको छ ।
शंखपार्कसहित काठमाडौं उपत्यकाका पाँच स्थान अस्वस्थकर छन् । रत्नपार्क, भक्तपुर, ललितपुरको खुमलटार, भैँसेपाटीमा वायु प्रदूषण बढेको छ । ती स्थानको एक्यूआई १६४ देखि १६८ सम्म छ ।
काठमाडौं उपत्यकाबाहिर चितवनको भरतपुरको एक्यूआई सबैभन्दा धेरै (१६३) छ । सोही समयमा मकवानपुरको हेटौँडामा एक्यूआई १५७, कैलालीको धनगढीमा १५५ र काभ्रेको धुलिखेलमा १५३ पुगेको छ ।
एक्यूआई १०१ देखि १५०को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।