

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शून्य समयपछि बोलेको भन्दै विपक्षी दलहरूले संसद बैठकमा अवरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन नगरी खतिवडालाई बोल्न दिएको भन्दै अवरोध गरेका हुन् ।
पहिले नै नाम टिपाएका खतिवडाको नाम सभामुखले उपसभामुखलाई चेयर हस्तान्तरण गर्ने बेलामा दिन छुटाएपछि उनको नाम शून्य समय सकिएको घोषणा गरेपछि बल्ल उपसभामुखले खतिवडालाई बोल्न दिएकी थिइन् । खतिवडाले बोलेपछि रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाउँदै खतिवडाको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए ।
पछि यसको विषयमा छानबिन गर्न संसद सचिवालयलाई सभामुखले निर्देशन दिँदा पनि विपक्षीले अवरोध नछाडेपछि सभामुखले १५ मिनेटका लागि सभा स्थगित गरेका थिए । पछि सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक सुरु भएको थियो ।
सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताएका हुन् । आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभएको थियो । त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन् ।