काठमाडौं । एन्फा उपाध्यक्ष दावा लामालाई पदबाट हटाउने मुद्दामा उच्च अदालत पाटनले विपक्षी झिकाउने आदेश दिएको छ । पदबाट हटाउन माग गर्दै दायर भएको मुद्दामा अन्तरिम आदेशका लागि विपक्षी झिकाउन आदेश दिइएको हो ।
लागु औषध खैरो हिरोइन बिक्री वितरण मुद्दामा तत्कालीन पुनरावेदन अदालत (हालको उच्च) ले एन्फाका उपाध्यक्ष लामालाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना गर्ने फैसला गरेको थियो ।
एन्फा निर्वाचनको दौरान लामाले झूटा विवरण पेश गरी निर्वाचित भएको, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र अखिल नेपाल फुटबल संघको विधानबमोजिम एन्फा उपाध्यक्षको रुपमा कामकाज गर्न अयोग्य भएको र एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको संरक्षणकै कारण गैरकानुनी रुपमा कामकाज गर्दै आएको भनी खेलप्रेमीहरूले उच्च अदालत पाटनमा उत्प्रेषणयुक्त परमादेश मागसहितको मुद्दा दायर गरेका थिए ।
मंगलबार न्यायधीश लेखनाथ पौडेलको एकल इजलासले अन्तरिम आदेशका लागि विपक्षी झिकाउने आदेश दिएको हो । लामालाई एन्फा उपाध्यक्ष पदबाट बर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले युवा तथा खेलकुद मन्त्रालयमा ताकेता पत्र समेत दर्ता गराएका थिए ।