काठमाडौं । नेपाल बार एसोसिएसनकै अध्ययनले आधाभन्दा धेरै जनतामा वकिल र न्यायाधीशप्रति सकारात्मक नरहेको देखाएको छ । नेपाल बार एशोसिएशनको युवा कानुन व्यवसायीहरूले गरेको एक अध्ययनमा न्यायालय, न्यायाधीश र वकिलप्रति आमसर्वसाधारणको धारणा नकारात्मक पाइएको हो।
सो प्रतिवेदनअनुसार अध्ययनमा सहभागीमध्ये केवल १९.८७ प्रतिशतले मात्रै वकिल र न्यायाधीशहरूको भूमिका ‘एकदमै सकारात्मक’ भनेर जवाफ दिएका छन् । ४२.१७ प्रतिशत उत्तरदाताले न्यायालय र न्यायाधीशहरूप्रति जनमानसको धारणा नकारात्मक छ भन्ने कुरा पुष्टि गरेको बारको प्रतिवेदनमा भनिएको छ ।
बाँकी रहेका ३९ प्रतिशत उत्तरदाताले धेरै जानकारी नभएको भन्दै तटस्थ बस्ने निधो गरे । सञ्चारमाध्यमले कानुनी क्षेत्रका बारेमा जनमानसको धारणा बनाउन योगदान गर्छ कि गर्दैन भन्नेमा ६७.४ प्रतिशत उत्तरदाताले ‘गर्ने’ बताएका छन् ।
यो प्रतिवेदनले न्यायालय र न्यायाधीशहरूप्रति जनमानसको विश्वास कम छ भन्ने इङ्गित गरेको बारको निष्कर्षमा उल्लेख छ । १८.७५ प्रतिशतले न्यायालयप्रति विश्वास छैन भनी अभिव्यक्ति दिएको प्रतिवेदनमा उल्लेख छ । ४३.६८ प्रतिशत उत्तरदाताहरू यसमा तटस्थ रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
‘अड्डा–अदालतका कर्मचारीले घुस एवं भ्रष्टाचारका लागि बाध्य बनाउने र पेसामा अनुभव बढ्दै जाने भएता पनि युवाहरूको आर्थिक अवस्थामा भने त्यस हिसाबले वृद्धि नहुने हुँदा युवा कानुन व्यवसायी भ्रष्टाचारसम्बन्धी कार्यमा संलग्न हुन बाध्य भएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘अदालतमा फोटोकपी गर्दा, आदेश र फैसला लेख्दासमेत हाकाहाकी भ्रष्टाचार हुने कुरा सर्वेक्षणका क्रममा सर्वेक्षण समूहमा आएको र सर्वेक्षणमा सहभागी धेरैले कानुन एवं नजिरले निर्देशित गरी फैसला हुनुपर्नेमा भ्रष्टाचारले निर्देशित गर्दै असङ्गतपूर्ण फैसलाहरू हुने गरेको बताए ।’