

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित यति फुटबल क्लबले वार्षिकरूपमा आयोजना गर्दै आएको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ को तयारी पूरा भएको छ । १४ औं संस्करणको यो प्रतियोगिता आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ ।
विजेता टोलीले १२ हजार डलर पाउने यो संस्करणमा कुल ४० टोली सहभागी हुने बताइएको छ । खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिका उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र नेपाली फुटबललाई प्रवर्द्धन गर्दै खेलकुदको माध्यमबाट समुदायलाई एकजुट बनाउने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, तास्मानिया, र एडिलेडका क्लबहरू मेलबर्न आउने तयारीमा छन् ।
पुरस्कार राशिका लागि खुला समूहका लागि १२ हजार डलर, उपविजेतालाई ४५ सय डलर पुरस्कार राशि तोकिएको छ । त्यस्तै, ३५ वर्षमाथिका विजेता टोलीलाई २५ सय डलर र उपविजेता टोलीलाई एक हजार डलर पुरस्कार तोकिएको यति फुटबल क्लबका अध्यक्ष कर्ण रानाले जनाएका थिए ।
त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही दुई सय डलर प्राप्त गर्नेछन्। फेयर प्ले अवार्ड जित्ने टोलीलाई पनि दुई सय प्रदान गरिनेछ । यस संस्करणमा हामीले खेलाडी र खेलकर्मीसँगै रेफ्रीलाई समेत नेपाल-अष्ट्रेलिया फुटबलसँग अभ्यस्त बनाउने प्रयास गरेका छौं ।