काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित काठमाडौँ महानगरपालिका–७ र ८ को सिमानामा रहेको लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले आज पूजा गरी लिच्छविकालीन सिफल ढोका पुनःनिर्माणका लागि शिलान्यास गरेका हुन्। ढोका जीर्ण भएकाले पुनःनिर्माण गर्न लागिएको उनले बताए ।
विसं २०८२ मङ्सिर २३ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सिफल ढोका रु ४४ लाख ३८ हजार दुई सय १८ लागतमा ढोका पुनःनिर्माण थालिएको पर्यटन समिति संयोजक सङ्गतले जानकारी दिए । लिच्छविकालमा निर्माण भएको ढोकाको २०४९ सालमा पुनःनिर्माण गरिएको थियो । यसैगरी २०५२ सालमा उत्तरपट्टिको ढोका र २०७४ सालमा दक्षिणपट्टि फलामको ढोका राखी निर्माण गरिएको थियो ।
“लिच्छविकालीन ढोकाको भग्नावशेष हाल नभेटिएपनि सेतो ढोका राणाकालीन समयमा निर्माण भएको यहाँका ज्येष्ठ स्थानीय बताउँछन्, हाल ढोका भत्काउँदा बेलायतीले बनाएको भग्नावशेष भेटिएको छ”, स्थानीय श्यामकृष्ण सङ्गतले भने।
परापूर्वकालमा यहाँको नाम ढ्वाकासी टोल रहेकाले त्यो बेलादेखि प्रवेशद्वार ढोका रहेका भन्दै यहाँ बस्ती बिस्तार भएसँगै नाम पनि सिफल ढोका नामाकरण गरिएको स्थानीय सङ्गतले बताए । नेपाल संवत् ३४५ मा नवाली टोलमा बस्ती बसेपछि यहाँ ढोका निर्माण गरिएको उनको भनाइ छ ।