काठमाडौँ । पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीमा पुन: भित्र्याउनुपर्ने माग राख्ने राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका सभापति राजेश तिम्सिनामाथि पार्टीले कारबाही गरेको छ। पार्टीको अनुशासन समितिले पठाएको निलम्बनसम्बन्धी पत्र शुक्रबार मात्र आफूले प्राप्त गरेको तिम्सिनाले बताएका छन्। केही समय अगाडि उनले पार्टी कार्यवाहक सभापति डिपी अर्याललाई संस्थापक महामन्त्री ढकाललाई पार्टीमा फिर्ता गराउन माग गर्दै पत्र लेखेका थिए।
सोही आधारमा तिम्सिनामाथि छानबिन हुनुपर्ने भन्दै निवेदन परेको कारण देखाएर अनुशासन समितिले निलम्बन गरेको हो। गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।
पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई प्रजातान्त्रिक विचारधाराको पार्टी रहेको बताउँदै आएको छ। जनताको मतलाई कदर गर्ने भन्दै निर्वाचनको समयमा र विभिन्न पदमा उम्मेदवारी दिने बेलामा समेत निर्वाचन गर्ने गरेको रास्वपाले नेतृत्वको आलोचनात्मक धारणा राख्ने नेता तथा कार्यकर्तामाथि भन्ने पहिलेदेखि नै असहिष्णु व्यवहार गर्दै आएको छ।
त्यसो त पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालसम्पनी अन्य जघन्य अपराधमा संलग्न भएर पार्टीबाट निष्कासित भएका भन्ने होइनन् । आफ्नो भेष दौडाहाको क्रममा पार्टीप्रति बढ्दै गएको वितृष्णालाई कम गर्नका लागि पार्टी सुध्रिनुपर्ने धारणा राखेपछि उनीमाथि पार्टीले कारबाही गरेको थियो। सभापति रवि लामिछानेका मुख्य सहयोगीका रूपमा स्थापना कालदेखि नै काम गर्दै आएका उनलाई सभापति लामिछानेकै निर्देशनमा कारबाही गरिएको थियो।
पछिल्लो समय सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेलिनवादी एमाले ले व्यवसायी मिनबहादुर गुरुङबाट जग्गादान लिएर पार्टी कार्यालय बनाउन लागेको विषयमा आलोचना गर्ने तीन नेताहरू भिम रावल विद्या पाण्डे र उषा किरण तिम्सिनामाथि नेकपा एमालेले कारबाही अघि बढाएको थियो। जसमध्ये रावललाई पार्टीबाटै निष्कासन गरिएको छ भन्दै पाण्डे र तिम्सिनालाई छ महिनाको निलम्बन पत्र थमाइएको छ । यसले नेकपा एमाले चरम अलोकतान्त्रिक पार्टी बन्दै गएको भन्दै तीव्र आलोचना हुँदै आएको छ। त्यसलाई पनि मात गर्ने गरी संस्थापक महामन्त्रीलाई पार्टी प्रवेश गराउने माग राख्ने प्रदेश सभापतिमाथि नै रास्वपाले कारबाही गरेर आफू एमालेभन्दा अलोकतान्त्रिक पार्टी रहेको प्रमाणित गरेको छ।
पछिल्लो समय नेकपा एमालेभित्र ओलीको चरम अलोकतान्त्रिक पद्धतिको विरोध हुँदै आएको छ। ओलीको यही प्रवृत्तिको विरोध गर्नेहरूले अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउनका लागि जोडबल गरिरहेका छन् । कारबाहीको डरले मुख फोर्न सक्ने अवस्था नरहे पनि एमालेभित्र यो चरम लोकतान्त्रिक पद्धति विरुद्धको स्वर भूसको आगो जस्तै फैलिएको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी पनि अलोकतान्त्रिक ढंगबाट चल्न थालेपछि यसको समेत व्यापक आलोचना र विरोध सुरु हुन थालेको छ।