काठमाडौं खबर पुस १९, २०८१
काठमाडौं । घन्टौंसम्म आफ्ना मनमा लागेका कुराहरु ओकलिरहने प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निकै हतारमा थिए । सचिवालय बैठकमा अध्यक्षको प्रतिवेदन पनि वाचन नगरी आज दिउँसोसम्म सुझाव दिन निर्देशन दिएर उनी निस्किएका थिए । उनी बालुवाटारमा बैठक भएको भन्दै कार्यालयबाट निस्किए पनि सिधै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निवास चपली पुगे । त्यहाँ साढे २ घण्टा ओली र भण्डारीबीच एक्लाएक्लै भेट भयो । भण्डारी निवास स्रोतका अनुसार फर्किने बेलामा पनि ओलीको अनुहारमा त्यति चमक देखिँदैन थियो ।
केही समयअघि एमाले सचिवालयले भीम रावल, विद्या पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गर्ने निर्णय गर्यो । भीम रावललाई पहिलेदेखि नै निष्क्रिय गराइएको थियो त्यसैले उनीमाथिको कारबाहीमा त्यति धेरै आपत्ति नभए पनि पाण्डे र तिम्सिनामाथिको कारबाहीमा भने धेरैले प्रश्न उठाए । व्यवसायीबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमाथि प्रश्न उठाएकोमा उनीहरूले छ महिनाको निलम्बन भोग्नु परेको थियो । यसमा केपी ओली आफैँ आलोचनाको पात्र बनेका थिए । यस्तै यस्ता अनेकौँ घटनाक्रमले केपी ओलीमाथि एमालेका अनेकौं पार्टी सदस्यहरू असन्तुष्ट छन् । यसमध्ये केहीले विद्रोहको आँट गरेका छन् भने धेरै जना मौन छन् । तिनै असन्तुष्टहरूलाई भण्डारीले संयोजन गरेर एमालेभित्र शक्ति बढाउँदै जाँदा केपी ओलीको टाउको दुखाइ बढ्दै गएको हो ।
चपलीमा रहेको त्यो घरमा जतिजति भेटघाट हुन्छ ओलीमाथि टाउको दुखाइको मापन उति नै बढ्दै जाने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला केही भाषणहरूमा उनी विद्या भण्डारीको सक्रियताले आत्तिको महसुस सहजै गर्न सकिन्छ । गत वैशाखमा ९ वर्षदेखि निष्क्रिय रहेको विद्या भण्डारीको पार्टी सदस्यता सक्रिय भएसँगै ओलीको टाउको दुखाइको दिन सुरु भएको थियो । त्यसैमाथि आफू पार्टी अध्यक्ष बन्ने सम्भावना टरिनसकेको भन्दै मिडियामा अन्तर्वार्ता दिन थालेपछि झनै ओलीको बोली लर्खरिएको छ ।
मंसिर अन्तिम साताको दुईदिने संगठन विभाग कार्यक्रममा ओलीले एमाले नेतृत्वमा ७० वर्षको उमेरहद हटिसकेकोले आफू अझै पार्टीअध्यक्ष निरन्तर बन्ने बताएका थिए । गत चैतमा स्याङ्जा जिल्ला अधिवेशन उद्घाटन क्रममा आफू अझै २० वर्ष पार्टी नेतृत्वमा रहनसक्ने जिकिर गरेका थिए । पार्टीका केही नेताहरूले बताए अनुसार उनको यो अभिव्यक्ति अरु कोही नभएर पूर्वराष्ट्रपति भण्डारीको सम्भावित सक्रियतातर्फ लक्षित गर्दै दिइएको थियो । पार्टी सदस्यता सक्रिय नगराएको भए पनि अब सक्रिय राजनीतिमा आएर पार्टी अध्यक्ष बन्ने चाहना स्पष्टसँग राखिसकेकी थिइन् ।
काभ्रेलगायत केही जिल्लामा भण्डारी पक्षीय भन्दै समानान्तर गुट बन्न थालेको परिदृश्यले पनि ओलीलाई झस्काएको थियो । बिहीबार ओली स्वयंले अध्यक्षता गरेको पार्टी बैठकमा सरकारमा पार्टीको कार्यक्षमता, नेतृत्वको शैली आदि विषयमा प्रश्नहरू उठेका थिए । ओली आफैंले राष्ट्रिय राजनीति सहज अवस्थामा नरहेको बताएका थिए । बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक अवस्थाको बारेमा गम्भीर विवेचना गरिएको टिप्पणी गरेका थिए । एमालेको सक्रिय राजनीतिमा फर्कन चाहने भण्डारी, अनि उनलाई ‘गल लगाएर नतान्न’ पार्टी पंक्तिलाई चेतावनी दिने ओलीका बीचमा धेरैपछि चपलीमा भएको छलफलले एमालेको आन्तरिक वृत्तमात्रै होइन, राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।
यसरी चपलीको निजी निवासमा बसेर राष्ट्रपति भण्डारीले खेलेको राजनीतिकले मनमौजी शासन गर्ने चाहना राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य टाउको दुखाइको विषय बनेको छ ।