काठमाडौं । विभिन्न समस्याका बाजबुत फेरि पनि कपन डुवानको समाधानका लागि खहरेमा काम सुरु हुने भएको छ । विभिन्न व्यक्ति र निकायको अवरोधले ढिलासुस्ती हुँदै आएको यो काम अघि बढाउन संघीय सांसद गगन थापाको पहलमा बसेको काँग्रेस एमालेको दुई पक्षीय बैठकले अघि बढाउने निर्णय गरेसँगै काम अघि बढ्ने भएको हो ।
विभिन्न मितिमा विभिन्न निकायमा भएको बैठक र दबाब कार्यक्रमले खहरेको कामलाई प्रभावित गराउँदै आएको थियो । थापाको पहलमा आएको २८ करोड बजेटबाट खहरेको तल्लो भागमा खोला खुला बनाउँदा कपनमा अहिले डुबान रोकिएपछि थापाले यो हिउँदमा नै जसरी पनि कपन खहरेको काम सम्पन्न गर्ने प्रयासमा जुटेका छन् । जसअन्तर्गत विभिन्न बैठक र छलफलपछि सबै पक्ष यहाँ काम सुरु गर्न सहमत देखिएका छन् ।
कपन खहरे सम्बन्धमा धेरैको चासो र जिज्ञासा रहेपछि सांसद थापाले भिडियोमार्फत जानकारी गराएका थिए । त्योभन्दा पहिले यसका लागि भएका विभिन्न पहलहरू निम्नानुसार रहेका छन् ।
विसं २०८१ मा जिल्ला अदालत काठमाडौंले कल्भर्ट बनाउने सम्बन्धमा फैसलापछि शहरी विकास मन्त्रालयमा मन्त्रीसहितको बैठक बसेको थियो जसमा महानगरले खोला खुला राख्नुपर्छ भन्ने तर्क गरेको थियो । त्यसपछि उपत्यकाका विकास प्राधिकरण कार्यालय प्रमुखसहितको बैठकमा पनि यो कल्भर्टको बारेमा छलफल भएको थियो । दुवै बैठकमा गत वर्ष रकमको अभाव भएर काम अघि बढ्न नसके पनि योजना यही बर्खाअघि नै समाप्त गर्ने सहमति भएको छ ।
२०८१ सालमा नै नदी किनारा २० मिटर लागू गर्ने सम्बन्धमा आएको सर्वोच्चको फैसलाले फेरि यहाँको काम रोकिएको थियो । तर अहिले सरकारले सो विषयमा पुनरावलोकनका लागि प्रस्ताव गरेसँगै यो काममा सो अवरोधको प्रभाव कम भएको छ । त्यसो त थापाको सचिवालयले पटकपटक यसलाई अघि बढाउन दबाब दिँदै आएको छ । २०८१ कात्तिक २३ गते काम सुरूवात गर्न ढिलाइ भएको सम्बन्धमा उपत्यकाका विकास प्राधिकरण जाँदा पूरा कपन ढुवानको सर्भे हुँदै गरेको जवाफ दिएको थियो । काम छिटो गर्न जनप्रतिनिधिसहितको बैठक पनि बसेर काम छिटो गर्न दबाब दिइएको थियो ।
त्यसपछि पनि कहिले सामान लुटिएको बहाना त कहिले महानगरले २० मिटरको चिह्न लगाउँदै हिँडेको बहानामा काममा ढिलाइ हुँदै आएको थियो । यही बीचमा गत मंसिर ४ गते सबै काम रोक्नु भनी बुढानीलकण्ठ नगरपालिकाले समेत पत्र लेखेपछि काममा फेरि अवरोध आएको थियो । यी सबै अवरोधमा दुई राजनीतिक दल फरक फरक स्थानमा रहनु मुख्य कारण रहेको भन्दै थापाको पहलमा गत मंसिर २७ गते दुवै पार्टीका प्रतिनिधि बसी ५ बुँदे सहमति गरेसँगै काम अघि बढ्ने भएको हो ।