काठमाडौं । पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावसँगै केही दिनदेखि काठमाडौंलगायत देशभरका मौसममा केही उतारचढाव भएको छ । जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व एवं मध्यभागमा आज मौसम मुख्यतया सफा रहे पनि लुम्बिनीदेखि पश्चिमको भागमा भने आज पानी पर्ने सम्भावना रहेको बताइएको छ । अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ।
आज काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी र कोशी प्रदेशका एकदुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहने छ।
शनिबार भने काठमाडौंसहित बागमतीका केही भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।