काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो ।
क्यानका अनुसार उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ । उपरोक्त सम्बन्धमा नेपाल क्रिकेट संघको आयोजनामा यही मंसिर १५ देखि पुस छ गतेसम्म ८ फ्रेन्चाइज टिमहरूबीच काठमाडौंमा सञ्चालन भइरहेको छ ।
एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्।
यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ। फाइनल खेल शनिबार हुनेछ।