काठमाडौं खबर मंसिर २४, २०८१
काठमाडौं । शंकरापुरमा तीब्र गतिमा सवारी चलाएर दुई जनाको ज्यान लिएका झाँक्री प्रकाश भुजेल कारागार चलान भएका छन् । सवारी ज्यान सम्बन्धी कसुरमा उनका वकिलले धरौटीमा छाडेर बाहिरबाटै मुद्दा लड्ने माग दाबी गरे पनि अदालतले पुर्पुक्षको लागि थुनामा पठाउने निर्णय गरेको हो ।
आइतबार जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए । दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।