विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई ऋणको भारी बोकाएर परियोजना अघि बढ्न नदिने स्पष्ट पारेका छन् । कांग्रेस कोशी प्रदेशस्तरीय सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले विदेशी ऋण लिएर परियोजना निर्माण गर्न नदिने बताएका हुन् । छिमेकी मुलुक चीनसँगको बीआरआई परियोजना लक्षित गर्दै अनुदानलाई प्रोत्साहन गर्ने भन्दै उनले यस्तो बताएका हुन् ।
बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘यो सम्झौतालाई संसदमा पनि लगेर छलफल गरौं । भोलिका दिनमा ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, यो कुरा म प्रस्ट रुपमा भन्न चाहन्छु र प्रत्येक कांग्रेसको सदस्यले यति भन्न सक्नुपर्छ । भोलि हामी सरकारमा नभए पनि कम्युनिष्टहरु मिलेर सरकार बनाए भने पनि यो सम्झौतामा टेकेर कांग्रेसले भन्न सक्छ, देशले ऋण लिन सक्दैन ।’
पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।