काठमाडौं । विसं २०७९ सालको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनको समयमा धेरैतिर नयाँ दलको खहरेजस्तै भेलले धेरै क्षेत्रमा पुराना दलका नेताहरूलाई चुनौती थपिइरहेको थियो । सोही समयमा पनि काँग्रेस महामन्त्री गगन थापा भने आफ्नो क्षेत्रका मतदाताप्रति ढुक्क थिए । पार्टीमा होस् या राष्ट्रिय राजनीतिमा जतात्यतैबाट प्रहार खेप्दै आएका थापाका लागि आफ्नो क्षेत्र भने एउटा आत्मीयताले भरिएको क्षेत्र थियो र यस क्षेत्रका मतदातालाई उनले अरु वैकल्पिक शक्तिको आश गर्नुपर्ने बनाउनु परेको थिएन ।
यही चुनावी अभियानकै क्रममा बुढानीलकण्ठ नगरपालिकाको वडा नं १०, ११ र १२ का करिब ११ सय परिवारलाई खानेपानीको समस्या रहेको काठमाडौंको कपनको जोरधारा क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । भर्खरै मात्र कपनको चखुँचा खोलाको बाढी प्रभावित क्षेत्रको समस्या समाधान गर्ने काम अन्तिम चरणमा चलिरहेको थियो । सोही कामसँगै अन्य विभिन्न कामको प्रतिबद्धता गर्ने क्रममा उनले यो धारामा पानी झार्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
देशभर नयाँ दल र स्वतन्त्र उम्मेदवारको लहरका बीच पनि गगनले शानदार तरिकाले चुनाव जिते । उनले चुनाव जितिसकेपछि आफूले गर्छु भनेर प्रतिबद्धता जनाएका कामहरूलाई वर्गीकरण गरेर तत्काल पूरा हुने र पूरा हुन समय लाग्ने गरी कामको विभाजन गरे । त्यसमध्ये यो पानीको काम तत्काल समाधान गर्नुपर्ने पनि थियो र असम्भव पनि थिएन ।
उनले चुनाव जितेलगत्तै नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ (ख)का सभापति रामप्रसाद लुईंटेललाई यो धारामा पानी ल्याउने काममा संयोजन गर्ने जिम्मा लिए । यसका लागि सरोकारवाला सरकारी निकायदेखि सांसद कार्यालयको बजेटसम्मले यो परियोजना सम्पन्न भएको थियो । यसका लागि आवश्यक परेको खण्डमा कहिले गगन थापा आफैँ सरकारी कार्यालय धाउने गर्दथे भने कहिले अन्य सहयोगीहरुलाई पठाउने गर्दथे । पानी ल्याउने काममा जोरधारा उपभोक्ता समितिका अध्यक्ष टंक सापकोटाले पनि यस पानी ल्याउने काममा दिलोज्यान दिएर काम गरेका थिए । गगन टिमको यो अथक प्रयासले जोरधारामा पानी झरेको हो ।
यसमा पानी झार्नका लागि गरेको संघर्षबारे यसको संयोजन गरिरहेका लुईंटेल भन्छन् ‘हामीले वडावासीसँग गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्नुथियो । यसको बीचमा भएको संघर्षलाई प्रदर्शन गर्नेभन्दा पनि स्थानीयलाई पानीको सुविधा दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो। संघर्ष त एक किलोमिटरभन्दा बढीबाट टाढाबाट घना बस्ती छिचोलेर पानी छार्नु पक्कै सजिलो थिएन होला । यसमा कति संघर्ष गर्नुपर्यो भन्ने हामी काममा खटिनेहरूलाई नै धेरै जानकारी हुने कुरा हो ।’
यो पानी महांकालमा रहेको पानी ट्याङ्कीबाट चार इन्चीको पाइपमा सिधै जोरधारामा लगेर जोडिएको छ । यसबाट करिब ११ सय घरधुरीलाई पानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।