काठमाडौं खबर मंसिर १०, २०८१
काठमाडौं । वायु प्रदूषणले अस्वस्थताको तह पार गरेपछि सरकारले अस्वस्थ, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बिहान बाहिर ननिस्किनआग्रह गरेको छ । साथै, प्रदूषणमा सहयोग गर्ने ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन पनि विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ । यो अस्वस्थकर अवस्था हो । वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।