काठमाडौं । आगामी मंसिर १६ हुने हुने उपनिर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको कीर्तिपुर नगरपालिकामा मेयरका आकांक्षी कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । आज उम्मेदवारी फिर्ता लिने समयावधिभित्र बसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो पदमा ९ जना दलगत र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार कायम भएका छन् । यी सबैको अन्तिम नामावली सार्वजनिक भएको छ । कीर्तिपुरको मेयरका लागि एमालेबाट डा. सुरेन्द्र मानन्धर, कांग्रेसबाट कृष्णमान डंगोल, माओवादीबाट प्राडा शिवशरण महर्जनको उम्मेदवारी कायम भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट तेस्रोलिंगी (यौनिक अल्पसंख्यक) दीपक महर्जन (हनी)को उम्मेदवारी परेको हो ।
त्यस्तै, राप्रपाबाट ध्रुव महर्जन, जनमत पार्टीबाट केशव श्रेष्ठ, जसपा नेपालबाट दीपक महर्जन, नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन र नेकपा एसबाट भानु रिजाल, नेमकिपाबाट श्रीकृष्ण महर्जनको दलगत अन्तिम उम्मेदवारी सार्वजनिक भएको हो ।
स्वतन्त्रबाट राजमान महर्जन, दिनेशकुमार अधिकारी, नवरथकुमार बानियाँ, आनन्द महर्जन, कविकुमार महर्जन, रामकृष्ण महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मिम महर्जन, प्रेमबहादुर महर्जन र धर्मरत्न मानन्धरको उम्मेदवारी परेको छ ।