काठमाडौं । छोटो समयमा नै चर्चामा आएर ठूला दलहरूलाई नै आत्थोआत्थो पारेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला सभापति रवि लामिछानेलाई छुटाउन दबाब दिँदै आन्दोलन गर्ने कि नगर्ने भन्ने सामान्य मुद्दामा अल्झिएर बसेको छ । यही झिनामसिना मुद्दामा लाग्दा काठमाडौंमै उम्मेदवार उठाउन नसकेको पार्टी अझै पनि रवि लामिछाने पक्राउको विरोधमा सडक आन्दोलन चर्काउने कि नचर्काउने भन्ने विषयमा आन्तरिक मतभेदमा छ ।
मंगलबार पार्टी उपसभापति डीपी अर्यालले बोलाएको पार्टी बैठकमा आन्दोलन चर्काउने र नचर्काउने भन्ने विषयमा स्पष्ट दुई धार देखियो । स्रोतका अनुसार उपलब्ध करिब आधा केन्द्रीय सदस्यले अब पार्टी सभापति छुटाउने मुद्दा लिएर आन्दोलनमा जानुको तुक नभएको भन्दै आन्दोलन नै गर्ने हो भने जनसरोकारको मुद्दा उठाएर आन्दोलन गर्नुपर्ने बताउँछन् ।
उता हिरासतमा रहेका रवि लामिछाने आफ्नो रिहाइको लागि भएको आन्दोलन प्रभावकारी नभएकोमा असन्तुष्ट देखिएका छन् । एक नेताका अनुसार हिरासतभित्रबाट रविले आन्दोलन चर्काउन निर्देशन दिइरहे पनि बाहिरको अवस्था उनले भने जस्तो नभएपछि नेताहरू आफैँ अन्योलमा छन् । आन्दोलनमा जनसंख्या कम हुन थालेपछि रास्वपाको पहिलो चरणको आन्दोलन करिबकरिब तुहिएको अवस्था छ ।
मंगलबारको बैठकमा मत बाझिएपछि बुधबार सभापति लामिछानेलाई सोधेर मात्रै पार्टीको कार्यक्रम तय गर्ने निष्कर्षमा रास्वपा पुगेको छ । बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले आन्दाेलन स्थगित गर्नुपर्ने धारणा राखिन् । उनको मतलाई रास्वपा केन्द्रीय सदस्य गणेश कार्की, असिम शाह, डा. प्रभात अधिकारी, खुस्बुसरकार श्रेष्ठलगायतले आन्दोलन गर्न नहुने पक्षमा मत राखेका छन् ।