काठमाडौं । नेपाल आईसीसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । बुधबार युएईमा भएको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेलमा नेपालले जित मात्रै नभएर ठूलो अन्तरले जित्नु आवश्यक थियो । युएईले जित हाँसिल गरिसकेपछि नेपालले युएईलाई कम्तीमा १६.२ ओभरमा जित्नुपर्ने बाध्यता रहेको थियो । ५ खेलमा ५ नै जीतसहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा थियो भने चार जीत र एक हारसहित आठ अंक जोडेको नेपाल दोस्रोमा थियो । अब शीर्ष स्थानमा पुगेको नेपालले आगामी वर्ष मलेसियामा हुने विश्वकपमा सहभागी हुन पाउने छ।
बुधबारको खेलमा नेपालको जितका लागि ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।