काठमाडौं खबर कार्तिक २७, २०८१
काठमाडौं । कप्तान पूजा महतोको धमकेदार ब्याटिङ र बलिङले नेपाललाई कुवेतसँगको आजको खेलमा जित दिलाएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ ।
केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् । नेपालबाट एउटै खेलमा शतक प्रहार तथा पाँच विकेट लिने पहिलो खेलाडी बन्दै उनले इतिहाससमेत रचेकी छिन् ।
यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९ बल खेल्ने क्रममा १७ चौका प्रहार गरिन् । यस्तै, सोनी पाख्रीनले ३३ बलमा दुई चौकाको मद्दतमा ४३, सावित्री धामीले ११ र साना प्रवीनले ६ रनको योगदान दिइन् । कुवेतले नेपाललाई २३ अतिरिक्त २३ रन दिएको थियो ।