काठमाडौं खबर कार्तिक २२, २०८१
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित सो महायज्ञ दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै आयोजना गरिएको आयोजकले जनाएको छ ।
महायज्ञ भावातित ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट सुरु भएको आयोजक फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले विसं २०७० देखि देशभरका करिब १०० वैदिक गुरुकुलमा भावातित ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ । महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बुधबार शोभायात्रा गरिएको थियो ।
आयोजकले यही महायज्ञसँगै तीन दिने वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि गर्ने भएको छ । महासम्मेलनमा युरोप अमेरिकालगायत देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ । भृकुटीमण्डपमा बुधबारदेखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिएको छ । मेलामा ५० अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष राखिएको छ ।