काठमाडौं खबर कार्तिक २१, २०८१
काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंको वाग्मती नदीमा धाप ड्यामको पानी छाडिने भएको छ । पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएसँगै नदी सफाइ र शुद्धताको लागि धाप ड्यामको पानी । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रतालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए। “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उनले भने, “विषेश दिनमा हामीले ड्यामको पानी वागमतीमा छाड्दै आएका छौँ ।”
समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, नेपालले भने, “मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौँ ।”