![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सञ्चालित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न फाइनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले फ्रिडम फाइटर युवा क्लबलाई २–१ गोलले पराजित गरी उपाधि जितेको छ ।
ठमेलका लागि बुद्धराज लिम्बु र कोमल खवासले गोल गरे भने फ्रिडमका लागि मिलन राईले गोल गरे । ठमेलले विजेता ट्रफीका साथै नगद रु. ८ लाख हात पार्यो भने उपविजेता फ्रिडमले नगद रु पाँच लाख हात पारेको छ । ठमेलका मीनबहादुर बस्नेत, भेषराज लिम्बु, टासी छिरिङ्ग क्रमशः प्रतियोगितको उत्कृष्ट गोलकिपर, मिडफिल्डर र सर्वोत्कृष्ट खेलाडी चुनिए भने उत्कृष्ट प्रशिक्षक विनोद आले भए ।
फ्रिडमका राजकुमार घिसिङ्ग, विकर्ण श्रेष्ठ क्रमशः उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवार्ड चुनिए । त्यस्तै, अनुशासित टिम हाम्रो धरान फुटबल क्लब र सबैभन्दा बढी उमेरका फुटबल खेलाडी वीरगञ्जका ऋतु शाक्यलाई पुरस्कृत गरिएको थियो । नागार्जुन नगरपालिकाको प्रायोजनमा कात्तिक ३ गतेदेखि मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सञ्चालित प्रतियोगितामा नेपाल भरबाट २१ टिमको सहभागिता रहेको थियो ।
विजेता, उपविजेता, सर्वोत्कृष्ट खेलाडीहरुलाई उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाको प्रमुख गजेन्द्र महर्जन र फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोक रत्न बज्राचार्य, एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, मध्यपुर थिमी नगरपालिकाका वडाध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए ।