काठमाडौं खबर कार्तिक ७, २०८१
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनमा अखाद्य र म्याद नाघेका सामग्री बिक्री गरेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनको क्रममा डेरीदेखि किराना पसलसम्म अखाद्य सामग्री भेटिएको हो ।
विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई जरिवाना तिराएको छ । मंगलबार बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले भेटिएपछि डेरीलाई कारबाही गरिएको विभागले जनाएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको छ। प्रयोग गर्ने गरेका जुसका दुई वटा नमुना चेकजाँच गर्दा कैफियत भेटिएन । निरीक्षणका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न विभागले सो स्टोरलाई निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामङ्गलस्थित अरबिका पिजेरिया प्रालिमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको पाइएको थियो । उपभोग्य मिति समाप्त भएको खाद्य पदार्थ पनि सो प्रालिमा देखिएको विभागले जनाएको छ । पेस्ट कन्ट्रोल प्रभावकारी नरहेको र सरसफाइ पनि सन्तोषजनक थिएन ।
सो प्रालिमा उपभोग्य मिति समाप्त भएका तोफु एक प्याकेट, अपर क्रस्त ब्रान्डको वन दुई प्याकेट, टेस्टी पिक्सेल ब्रान्डको स्ट्रबेरी सिरप १ दशमलव ३ केजीको चार डब्बा नष्ट गरिएको थियो । भान्सामा खाना तयारी तत्काल बन्द गरी निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गरेर सोको प्रमाण विभागमा जानकारी गराउन पनि सो प्रालिलाई निर्देशन दिइएको छ । यो प्रक्रिया पूरा गरेर पुनःनिरीक्षणपश्चात् मात्र सेवा प्रदान गर्नेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सो पसललाई कारबाही अघि बढाइएको छ ।