काठमाडौं खबर कार्तिक ४, २०८१
काठमाठौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा झरेको छ। उपत्यकाका लागि यो तापक्रम पोस्ट मनसुन सुरु भएयताकै कम हो । शनिबार बिहान यो तापक्रम १४ डिग्रीमा झरेको थियो । मनसुन अक्टोबर १२ तारिखमा बिदा भई पोस्ट मनसुन सुरु भएपछि क्रमश: काठमाडौंसहित देशभरको तापक्रम कम हुँदै गएको छ।
मनसुन बिदा तथा पोस्ट मनसुन सुरु भएको दिन असोज २६ (अक्टोबर १२) मा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८.३ र न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो। यसको भोलिपल्ट अर्थात् अक्टोबर १३ का दिन अधिकतम २८ र न्यूनतम १४.७ मा झरेका थिए।
यसैगरी अक्टोबर १४ मा उपत्यकाको अधिकतम २७.५ मा झरेको थियो भने न्यूनतम तापक्रमचाहिँ १७.२ डिग्री सेल्सियसमा उक्लेको थियो। अक्टोबर १५ मा अधिकतम स्थिर अर्थात् २७.५ मै अडिग रह्यो भने न्यूनतम तापक्रमचाहिँ १५ डिग्री सेल्सियसमा झरेको थियो।