भक्तपुरमा अनेक जात्रा पर्वहरूमध्ये दशैंको मुख्य जात्रा पर्व भनेको खँ मेय्, नवदूर्गा नाच र पायाः पर्व नै हो । यसमध्ये पनि खँ मेय् र नवदूर्गा नाच एक आपसमा अन्तरसम्बन्धित पर्वहरू हुन् । खँ मेय् यस्तो जात्रा हो जहाँ नवरात्रको नवौं दिन द्योछेंदेखि नगरवासीको ठूलो भिडले राँगोलाई जिस्काउँदै ब्रह्मायणीसम्म लैजाने गर्छन् । बिहानैदेखि मदिराले मत्याइएको राँगोलाई नगरवासीले जिस्क्याउँदै यो जात्रा मनाउने गरिन्छ ।
यो जात्राको क्रममा दुखद् घटना घटेका उदाहरणहरू भएपनि यसमा स्थानीयको ‘क्रेज’ घटेको छैन । द्योछेंबाट ब्रह्मायणी पुग्न सिधा बाटो जाँदा १५/२० मिनेट लाग्छ । तर, भिडद्वारा नियन्त्रित राँगोलाई नगर धुमाएर साँझ मात्रै ब्रह्मायणी पुर्याउने गरिन्छ ।
मन्दिरमा लगेपछिको पूजाविधि गोप्य हुन्छ । त्यो विधि पूजारीले अरूलाई सुनाउन र देखाउनु हुन्न भन्ने मान्यता छ । अझ यो जात्रामा रोचक कुरा त यो छ कि त्यो दिनभरि मत्याइएको राँगोलाई साँझ गुप्तपूजा सकिएपछि कुनै पनि हतियारको प्रयोगविना नै बली दिने गरिन्छ । यसमा नवदूर्गा गणका सदस्यहरूले सहयोग गर्ने गर्छन् ।
संस्कृतिविद् शर्माका अनुसार मर्नुपहिले नै राँगोको मूल रक्तवाहिनी नली छिनालेर त्यसको रगतलाई मन्दिरमा रहेका विभिन्न देवीदेवता, अष्टदिक्पाल, तोरण र टुँडालमा कुँदिएका मूर्तिहरूलाई समेत भोग चढाउने गरिन्छ ।