काठमाडौं खबर अशोज २०, २०८१
काठमाडौं । विपद् व्यवस्थापनको पहल एवं विकास निर्माणमा स्थानीय प्रदेश र केन्द्र सरकारलाई खबरदारी गर्ने उद्देश्यले काठमाडौं क्षेत्र नं ४ मा काँग्रेसले गठन गरेको टास्क फोर्सले बुढानीलकण्ठ नगरपालिकामा पहिरो प्रभावितलाई राहतको माग गर्दै डेलिगेसन गएको छ । आइतबार टास्क फोर्सका संयोजक न्हुँच्छे नारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख, प्रमुख कार्यकारी अधिकृत र नगरपालिकाको विपद् समिति प्रमुखसँग भेटेर तत्काल राहत उपलब्ध गराउन नगरपालिका र नगरप्रमुखको ध्यानाकर्षण गराएको हो ।
पहिरो प्रभावितलाई समेत लिएर गएको सो टास्क फोर्सले दशैँअघि नै प्रभावितलाई राहतका कार्यक्रम ल्याउन माग गरेको टोलीका सदस्य एवं काठमाडौं क्षेत्र नं ४ ख का काँग्रेस प्रदेश सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए ।
पूर्वप्रदेश सभा सदस्य न्हुँच्छे नारायण श्रेष्ठको संयोजकत्वमा नेपाली काँग्रेसको क्षेत्र, प्रदेश, नगर र वडा इकाईका प्रतिनिधिसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसमेतको सहभागितामा बनेको टास्कफोर्सले गठन भएको केही दिनमा नै आफ्नो काम सुरु गरेको हो । आइतबारको डेलिगेसनमा टास्क फोर्सका सबै सदस्यसहित प्रभावित क्षेत्रका बासिन्दाको समेत सहभागिता रहेको थियो ।