काठमाडौं खबर अशोज २०, २०८१
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन बागमती प्रदेशमा मौसम सामान्यतया सफा रहने बताएको छ । सामान्य बदलीका कारण केही भेगमा हल्कादेखि मध्यम वर्षा हुनेबाहेक पानी पर्ने सम्भावना कम रहेको विभागले जनाएको छ ।
अन्य वायुको प्रभाव नपरेमा आजदेखि खासै पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ ।
विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।