काठमाडौं खबर अशोज १३, २०८१
काठमाडौं । मौसम विभागले वर्षा अझै नसकिएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेको छ । आइतबार बिहानैदेखि मौसम सफा भए पनि वर्षा नसकिएको भन्दै सचेत रहन विभागले आग्रह गरेको हो ।
बिहान ८:२४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो। तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ- विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ। तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।