काठमाडौं खबर अशोज ११, २०८१
काठमाडौं । साधारणतया बदलीदेखि पूर्ण बदली हुँदा देशभर पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आज भारी वर्षाको पनि सम्भावना रहेको छ । तर सामान्य वर्षा भने सबै प्रदेशमा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
त्यसो त यो वर्षा बागमती प्रदेशका धेरै भूभागमा शनिबार दिउँसोसम्म चल्ने भएको छ । शनिबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
शनिबार रातिदेखि भने वर्षा गण्डकी र लुम्बिनी प्रदेशतिर सर्ने र बागमती प्रदेशमा वर्षा रोकिने महाशाखाको भनाइ छ ।