काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि उच्च अंकले घटेको छ । मंगलबार बजार ५८.९३ अंकले घटेर बजार मापक २४७०.३९ विन्दुमा कायम भएको छ ।
पछिल्ला दिनहरूमा सेयरबजारको गिरावट बढ्दै जाँदा नोक्सानीको लागि प्रतिस्पर्धा जस्तै भएको छ । हिजो वित्त क्षेत्रले सबैभन्दा धेरै गुमाएको सेयर बजारमा आज भने फाइनान्स समूहले धेरै नोक्सानी ब्यहोरेको छ । मंगलबार यस दिन १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
राताम्मे देखिएको उपसूचक समूहमा सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य घटेको छ । फाइनान्स समूह ४.६० प्रतिशतले गिरावट आएको हो । बजार घटे पनि माथिल्लो स्यांगे जलविद्युत्, नबिल ग्रोथ फन्ड, ईन्वा हाइड्रो, नबिल ब्यालेन्स्ड फन्ड, सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा परे ।