

काठमाडौं । पल्सर्स स्पोर्ट्स अवार्डअन्तर्गत् विभिन्न खेलका उत्कृष्ट खेलाडी छनोट भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई अवार्ड प्रदान गरेको हो । विभिन्न खेलबाट अवार्ड प्राप्त गरेका खेलाडीहरूको नामावली यस्तो छ ।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । क्यानका संस्थापक मध्येका एक हुन् । करातेतर्फ एरिका गुरूङले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा नेपालको लागि रजत पदक हात पारेकी थिइन् ।
त्यस्तै, भलिबलतर्फ कविता भट्टले वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । यो मतदानको आधारमा चयन हुने अवार्डमा उनले ५६ प्रतिशत मतसहित अवार्ड जितेकी हुन् । राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । त्यस्तै, भलिबल प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन् । नेपाली महिला भलिबलको सफलता लोभलाग्दो छ। यो सफलतामा पर्दा पछाडिका नायक हुन, राई। उनले राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी दिएका छन्।
त्यस्तै, पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छन् । पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छन् । तर यो अवार्ड उनले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन् । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन् । श्रेष्ठको नेतृत्वमा उनले १९औँ एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।
त्यस्तै, वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन् । १६ वर्षका युवा जुझारु खेलाडी हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । नेपाली भारोत्तोलनले एसियनस्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो।