काठमाडौं खबर भदौ २७, २०८१
काठमाडौं । आज साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको सेयर मूल्य भने घटेको छ ।
कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एसियन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।