काठमाडौं खबर भदौ २३, २०८१
काठमाडौँ । तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सव आयोजना गर्ने सन्दर्भमा आइतबार काठमाडौंको हिमालयन होटलमा एउटा छलफल कार्यक्रम भएको थियो । महँगै तारे होटलमा कार्यक्रम भए पनि कार्यक्रममा सहभागीहरूले भने आर्थिक अभावको समस्या र यसले साहित्यमा पारेको असरको बारेमा राम्रै बहस विमर्श गरे । उनीहरूले पछिल्लो समय साहित्यको गरिमा र ओझ घट्नुको पछिका केही कारणको बारेमा पनि चर्चा गरे । साथै आयोजकहरुले महोत्सव गर्दाको दौडधुप र आर्थिक अभावका विषयमा अनुभव साट्दै कार्यक्रम सकियो ।
बैठकमा सहभागीहरुले महोत्सवको आयोजना गर्दा आर्थिक अभावका कारण झेल्नुपरेका पीडा र सास्तीका विषयमा छुट्टाछुट्टै अनुभव सुनाएका थिए । यो कार्यक्रमको निष्कर्ष थियो, पैसाले मार्ने भयो साहित्यलाई भन्ने
साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले युग सुहाउँदो र युवाको रोजाइ अनुसारको साहित्य पस्किन नसकेका कारण पनि पछिल्लो समय साहित्य र नयाँ पुस्ताको बीच खाडल रहेको धारणा राखे । महोत्सवले विद्यार्थी सन्तुष्ट हुन नसकेको बताउँदै उनले नयाँ पुस्ताको भाषामा साहित्य बुझाउन आवश्यक रहेको बताए ।
इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक रकम अभाव हुने गरेको बताए । आर्थिक सहयोग सङ्कलन गर्दाको अनुभव सुनाउँदै उनले भने, “कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नुपर्छ ।”
जनकपुर साहित्यक महोत्सवका आयोजक अमितकुमार शाहले अहिलेसम्म पाँचौँ संस्करण सम्पन्न गरेको जानकारी दिए । उनले महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता हुने गरे पनि पछि सहयोग नपाएको अनुभव सुनाए । शाहले भने, “महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ । पछि पैसा उठाउन समस्या हुने गरेको छ । सम्झौताअनुसार सहयोग पाउन सकिदैँन ।”