काठमाडौं खबर भदौ १५, २०८१
काठमाडौं । काँग्रेस पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन संशोधन नगर्ने पक्षमा करिबकरिब सहमति हुन लागेको छ । शनिबार बसेको पदाधिकारी बैठकमा नेताहरू सहमतिउन्मुख भए पनि बैठक विना निष्कर्ष टुंगिएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको हो ।
बैठकमा महामन्त्रीहरूको प्रस्तावमा सामान्य संशोधन गरे पनि यसको मूलभूत विषयमा संशोधन नगर्ने पक्षमा नेताहरू करिबकरिब सहमतिउन्मुख रहेका छन् । महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउन बैठक सकारात्मक रहेको बताइएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई सामान्य परिमार्जन गरेर पारित गर्ने विषयमा छलफल भएको बताए ।
कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठकअघि दिउँसो पुनः पदाधिकारी बैठक बसेर आवश्यक छलफल गरिने उनले बताए ।