काठमाडौं खबर भदौ ११, २०८१
काठमाडौं । ब्राजिलमा रहेको नेपाली दूतावासले अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेको जनाएको छ । पानामाको बाटो हुँदै अमेरिका जान हिँडेका उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा भएको जनाएको छ । यसअघि विभिन्न सञ्चारमाध्यममा सो विमानस्थलमा नेपालीसहित करिब ७०० जना विदेशी रोकिएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण जनाउँदै दूतावासले त्यहाँ १७६ जना नेपाली रहेको जनाएको हो ।
आवश्यकताअनुसार उनीहरुलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको दूतावासले सूचित गरेको छ ।
यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।