काठमाडौं खबर भदौ ७, २०८१
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला सकिएको छ । ३८ दिनसम्म चलेको श्रावणी मेलामा करिब चार लाख भक्तजनले दर्शन गरेको आयोजकले जनाएको छ । साउन १ गतेदेखि सुरु भएको मेलामा करिब ८५ लाख रूपैयाँ संकलन भएको पनि आयोजकको भनाइ छ ।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।
साउने मेलामा नेपाल, भारतलगायत देशका भक्तजनको आगमन भएको भन्दै भारतीय भक्तजनको उपस्थिति हरेक वर्ष बढ्दै गएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको जानकारी दिँदै उहाँले ३८ दिने साउनको चार सोमबारमा दैनिक ५० हजारभन्दा बढी भक्तजनको आगमन भएको जानकारी दिए ।
श्रावणी मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको हो । यस अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।