आजभन्दा करिब २२७ वर्ष पहिले अर्थात् २० अगस्ट, १८९७ मा एक बेलायती डाक्टर सर रोनाल्ड रसले अभूतपूर्व खोज गरेका थिए। उनले मानिसमा मलेरिया फैलाउनको लागि पोथी एनोफिलिस लामखुट्टे जिम्मेवार रहेको अनुसन्धानबाट पत्ता लगाएका थिए ।
यो पोथी लामखुट्टेको पेटमा मलेरिया गराउने परजीवी भेटिएको थियो । आज यो सानो लाग्न सक्छ, तर त्यो समयमा, यो खोज विज्ञान र चिकित्सा को दुनियाँका लागि एक ठूलो उपलब्धि थियो। त्यसैले यो दिन इतिहासमा लेखिएको छ। त्यसयता हरेक वर्ष अगस्ट २० लाई विश्व लामखुट्टे दिवसका रूपमा मनाइन्छ । हरेक वर्ष विश्व लामखुट्टे दिवसको अवसर पारेर लामखुट्टेको टोकाइबाट हुने खतरासँग जुध्न मानिसहरूलाई सचेत गराइन्छ ।
मानिसका लागि सर्पभन्दा लामखुट्टे बढी खतरनाक
लामखुट्टेलाई मानिसका लागि सबैभन्दा खतरनाक जीव भनिन्छ । यो भन्नु पनि सहि हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि सर्पको टोकाइबाट करिब एक लाख ४० हजारको मृत्यु हुने गरेको छ भने लामखुट्टेको टोकाइबाट हुने रोगका कारण वर्षेनि १० लाखभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।
लामखुट्टे यस्तो प्राणी हो जसले एउटा मात्र होइन धेरै रोग फैलाउन सक्छ । यसमा ठूलो समस्या यो हो कि कुन लामखुट्टेले कुन रोग ल्यायो भनेर प्रत्यक्ष हेरेर पहिचान गर्न सक्दैन। त्यसैले सबैलाई सचेत गराउन हरेक वर्ष विश्व लामखुट्टे दिवस मनाइन्छ । लामखुट्टे धेरै प्रकारका हुन्छन् । यी विभिन्न रोगको कारण बन्न सक्छन् । संसारभरि लामखुट्टेको टोकाइबाट फैलिने १० भन्दा बढी रोगहरू छन् । मलेरिया, डेंगू लगायत मुख्य रहेका छन् ।