काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र १२ का वडाध्यक्षलाई पाँच दलीय संयन्त्रले १४ घण्टे अल्टिमेटम दिएको छ । बिहीबार नेपाली काँग्रेसको बुढानीलकण्ठ नगर कार्यसमितिका सभापति राजाराम बुढाथोकीको अध्यक्षतामा बसेको पाँच दलीय प्रतिनिधिहरुको बैठकले फोहोर व्यवस्थापनको नाममा गरिएको मनपरी फिर्ता लिन १४ घण्टे अल्टिमेटम दिएको हो ।
यसअघि फोहोर व्यवस्थापनमा स्थानीयले तिर्दै आएको शुल्कको झण्डै दोब्बर हुने गरी नयाँ कम्पनीलाई ठेक्का दिएर उपभोक्तामाथि आर्थिक भार थपेका दुई वडाध्यक्षहरुले अहिले पुरानो फोहोर संकलन संस्थाको गाडी नियन्त्रणमा लिने, धरपकड गर्ने गरेकोप्रति ध्यानाकर्षण जनाउँदै शुक्रबार बिहानसम्म नियन्त्रणमा लिएका गाडी नियन्त्रणमुक्त गरेर निर्वाध फोहोर उठाउन नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बिहीबारको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरु सहभागी थिए । उनीहरुले उपभोक्ताको हितविपरीत वडाले शुल्क थप गर्ने गरी अर्काे कम्पनीलाई जिम्मा दिने र त्यसलाई बाध्यकारी बनाउन धरपकड गर्ने कामको निन्दा गर्ने निर्णय पनि गरेको नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ख एवं सर्वदलीय संयन्त्रका सचिव मनोज सिग्देलले जानकारी दिए । उनले उपभोक्ता हितको रक्षा गर्न सबै दल एकजुट रहेको भन्दै उपभोक्ताको माग पूरा नभए सशक्त आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि नै गैरकानुनी रुपमा वडाले नगरपालिकालाई समेत थाहै नदिई टेण्डर आह्वान गरेर फोहोर व्यवस्थापनमा दोब्बर शुल्क असुल्ने गरेको भन्दै स्थानीयसहित नेपाली काँग्रेसले नगर प्रमुख मिठाराम अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । तर पछिल्लो समय वडाध्यक्ष प्रत्यक्ष रुपमा संलग्न भएर नै पुरानो फोहोर संकलन संस्थाको गाडीमाथि थरपकड गर्न थालेपछि नेपाली काँग्रेस बुनपा नगर सभापति बुढाथोकीलगायतले सर्वदलीय बैठकको पहल गरेका थिए । सो संयन्त्रले बिहीबार उपभोक्ता अधिकारको विषयमा साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको हो ।