काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा पर्ने भीमढुंगा एउटा पुरानो पैदलमार्गमध्येको एक हो । काठमाडौंबाट धादिङ हुँदै पश्चिमतर्फ जाने मूल बाटो नै यहीँबाट सुरु हुने गरेको इतिहास भेटिन्छ । तर यसको इतिहास मध्यकाल र आधुनिककालमा मात्रै सीमित छैन । यो काठमाडौंमा पानी जमेर जलमग्न भएको अवस्थादेखि नै यसको इतिहास सुरु भएको देखिन्छ ।
यस ठाउँको नाम भीमढुङ्गा कसरी रहन गयो भन्ने बारेमा पनि रोचक पौराणिक किंवदन्ती रहिआएको छ । यस ठाउँको नाम भिमढुङ्गा रहनुमा यहा अवस्थित भिमसेनको मन्दिर र उनले चढ्ने गरेको ढुङ्गाद्धारा निर्मित डुङ्गासँग जोडिएको किंवदन्तीलाई लिने गरिन्छ । प्रचलित किंवदन्तीअनुसार द्धापर युगमा पाँच पाण्डव मध्येका एक भिमसेन एक दिन भ्रमण गर्दै गर्दा एक विशाल दह (हालको काठमाडौं उपत्यका) मा पुगे । त्यहाँबाट अगाडि बढ्न डुङ्गामा सवार हुने विचार गरे र उनले एक ढुङ्गाद्वारा निर्मित डुङ्गा बनाई त्यसमा सवार भई दहको चारैतिर डुल्ने गर्न थाले ।
सोही क्रममा एकदिन उनको भेट सुप्रभा नगरका दानव राजाकी छोरी प्रभावतीसँग भयो र उनलाई प्रेम गरे र दिनहँु भेट्ने गरे । एकदिन आफूले चढेको ढुङ्गाको डुङ्गा तालको छेउ अर्थात नागार्जुन डाँडाको फेदमा राखी पे्रम लीलामा मग्न भए । तत्पश्चात तालको छेउमा राखेको डुङ्गा चढेर जाने विचारले अगाडि बढेर आफ्नो डुङ्गा पूरै बाहुबल लगाएर तान्दा पनि बाहिर आएन र त्यहीँ भासियो । त्योदेखि उनी त्यस ठाउँबाट विलय भए । यसरी भिमसेनको डुङ्गा गायब भएको स्थान पछि अपभ्रंस हुँदै भीमढुङ्गाका नामले नामाकरण हुन गएको स्थानीय बताउँछन् । पृथ्वीनारायण शाहको गोरखा दरबार देखि काठमाडौं हनुमानढोका दरबारको दशै घरमा भित्राउने फूलपाति यहि भिमढुङ्गाको बाटो भई आउने र भिमसेन मन्दिरमा परिक्रमा गराई लैजाने प्रचलन अहिले पनि जीवितै छ ।
सो क्षेत्रमा दुबेचौर, थाप्ले, भिरकोट, भिमसेन स्थानजस्ता पर्यटकीय सम्भावना बोकेको वडामा विभिन्न देवी देवताका मन्दिरहरु पनि प्रशस्त पाईन्छ । हिन्दु र वौद्ध परम्परामा समान आस्था प्रदर्शन गर्ने यहाँका बासिन्दाहरु धार्मिक सहिष्णुतालाई मन पराउँदै आएको देखिन्छ ।