काठमाडौं खबर साउन १८, २०८१
काठमाडौं । काठमाडौंमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव जित्ने एक मात्र एमाले उम्मेदवार बनेका कृष्णगोपाल श्रेष्ठले यस पटक पनि प्रदेश इन्चार्जको जिम्मेवारी पाएनन् । उनले चाहना राखेदेखि नै तीन जनाभन्दा धेरैले इन्चार्जको जिम्मेवारी पाइसक्दा पनि उनलाई भने सधैं उपेक्षा गरिँदै आइएको छ । यसपटक पनि सचिवालय बैठकमा धेरै पदाधिकारीहरूले श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने भनिए पनि अन्तिममा राजन भट्टराईलाई इन्चार्ज तोकिएपछि काठमाडौंको कोर एरियाका एमालेहरू रुष्ट बनेका छन् ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये काठमाडौं ९ एउटामा मात्रै एमाले उम्मेदवारले चुनाव जितेर एमालेको इज्जत जोगाएका थिए । लामो समय पार्टीमा योगदान दिएका उनलाई पछिल्लो समय ओलीले भने उपेक्षा गरेका थिए । एउटा भाषणमै कृष्णगोपालले संयोगले चुनाव जितेको भनेर अपमानजनक ढंगले अभिव्यक्ति समेत दिएका ओलीले अहिले इन्चार्ज बनाउन कृष्णगोपाललाई योग्य मानेनन् ।
यसअघि बागमती प्रदेश इन्चार्ज रहेका गुरुप्रसाद बराललाई एमालेले केन्द्रीय उपाध्यक्षमा बढुवा गरेको छ । गत वर्ष सुवास नेम्वाङको निधन भएपछि एउटा उपाध्यक्ष पद रिक्त थियो । त्यही उपाध्यक्ष पदमा बराललाई मनोनयन गरिएको हो । यसअघि बरालले स्थायी कमिटी सदस्यको हैसियतमै बागमती इन्चार्जको जिम्मेवारी पाएका थिए । बागमती प्रदेशको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठको चाहना थियो, प्रस्ताव र छलफल पनि भए पनि पछि निर्णय आउने बेलामा राजन भट्टराईको नाम आएको हो ।
आफ्नो प्रदेशमा लामो समयसम्म पार्टीमा योगदान गरेका श्रेष्ठलाई जिम्मेवारी नदिइएको भन्दै कोर एरियाका एमाले कार्यकर्ताहरू भने रुष्ट भएका हुन् । उनीहरूले पार्टीमा योगदान गरेका स्थानीय नेवारी समुदायलाई बेवास्ता गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । एमालेले आमचुनाव हारेकाहरुलाई पार्टीमा मुख्य जिम्मेवारी दिने नीतिअन्तर्गत यसअघि बरालले यो तहको सफलता पाएका थिए । तर गत २०७९ मंसिरको चुनावमा सिंगो बागमती प्रदेशमै एमालेबाट चार जनाले जित्दा राजधानी शहर काठमाडौंमा पार्टीलाई शून्य हुनबाट जोगाएका कृष्णगोपाल श्रेष्ठले फेरि पनि यही नीतिको शिकार हुनु परेको हो ।