

काठमाडौं । राति परेको मुसलधारे वर्षाले काठमाडौंमा एक जनाको ज्यान गएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरुमा आएको बाढीले तीनै जिल्लामा विध्वंश मच्चाएको छ । अहिलेसम्म ७५ जनाको उद्धार गरिएको उपत्यका प्रहरीले जनाएको छ । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।
काठमाडौंको बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर कोरिडोर, धोबीखोला करिडोर, कीर्तिपुरलगायतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरुको उद्दार पनि गरेको छ ।
त्यस्तै, रातभरको वर्षाले भक्तपुरका विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्याएको छ । सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ । पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ । त्यहाँ अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
त्यस्तै, ललितपुरका विभिन्न स्थानबाट प्रहरीले २४ जनालाई उद्धार गरेको छ । प्रहरीले बागमती कोरिडोरलगायतका स्थानबाट ३ बालबालिका, ८ महिला र १३ पुरुष गरी २४ जनाको उद्धार गरेको हो ।