बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । काँग्रेस र एमालेको गठबन्धन बनेपछि काँग्रेसको भागमा परेको मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
मुख्यमन्त्री लामालाई प्रदेशसभाका करिब ६० प्रतिशत सदस्यहरूले विश्वासको मत दिने सम्भावना देखिएको छ । अहिले प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७ सांसदहरू रहेका छन् । उनीहरूको कुल संख्या जोड्दा कुल सदस्य संख्याको ५८ प्रतिशत हुन आउँछ ।
यसबाहेक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।